मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१४ वर्षदेखि रोकिएको कन्काई पुल निर्माणको ठेक्का रद्द, ठेकेदारको जमानत पनि जफत

2.1K
SHARES
१४ वर्षदेखि रोकिएको कन्काई पुल निर्माणको ठेक्का रद्द, ठेकेदारको जमानत पनि जफत

झापा । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई नदीमाथि बन्ने ७२३ मिटर लामो पुल निर्माण कार्य १४ वर्षदेखि अलपत्र परेको भन्दै ठेक्का तोडिएको छ । अन्ततः योजना कार्यालय इटहरीले ठेकेदारलाई थप मौका नदिई ठेक्का नै तोडेको छ ।

सडक विभागअन्तर्गत हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी)सँगको सम्झौता औपचारिक रूपमा रद्द गरिएको जनाएको छ । पुल ‘डिजाइन एण्ड बिल्ड’ मोडालिटीमा निर्माण गर्ने सम्झौता ३१ जेठ २०६८ मा गरिएको थियो ।

सम्झौता अनुसार कन्काई पुल ३० जेठ २०७२ भित्र सकिनुपर्ने थियो । तर पाँचपटक म्याद थप्दा पनि कार्य प्रगति ५६ प्रतिशतमै रोकिएको छ । ३४ करोड ९ लाख रुपैयाँको ठेक्कामा निरन्तर ढिलाइ भएपछि रद्द गरिएको ठेक्कासँगै १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत समेत जफत गरिएको छ ।

योजना कार्यालयले गत ३१ असोजमा १५ दिनभित्र स्पष्टीकरण मागेको थियो । निर्माण व्यवसायीले दिएको जवाफ ‘असन्तोषजनक’ भएकाले सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको कार्यालय प्रमुख युवराज पोखरेलले जानकारी दिए ।

अब कार्यालयले हालसम्म बनेको संरचना र बाँकी कामको नापजाँच मूल्यांकन गरी वित्तीय समायोजनका लागि १५ दिनभित्र हाजिर हुन ठेकेदारलाई आग्रह गरेको छ ।

गत असोज २६ मा ऊर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार, यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले स्थल निरीक्षण गर्दै लामो समयदेखि कार्यान्वयन नभएका ‘रुग्ण ठेक्का’ तत्काल तोडिने चेतावनी दिएका थिए। उनले काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि कठोर कदम चालिने बताएका थिए ।

कन्काई पुलमा १९ स्पानमध्ये ८ वटा मात्र पूरा भएका छन् । बाँकी ११ मध्ये २ वटाको बिम हालिएको छ, ६ वटाको जग तयार छ भने ३ वटाको जग हाल्न अझै बाँकी छ । वर्षौंदेखि रोकिएको यो आयोजनाले स्थानीयमा निराशा उत्पन्न गरिरहेको छ, भने ठेक्का रद्द भएपछि अब नयाँ प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ११, बिहीबार ०८:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP