मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामेछापको भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, ठूला सवारी सञ्चालन ठप्प

2.8K
SHARES
रामेछापको भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, ठूला सवारी सञ्चालन ठप्प

रामेछाप । लगातारको वर्षापछि आएको बाढीले रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा क्षति पुर्‍याएपछि ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

शुक्रबार रातिदेखिको अविरल वर्षाले खोलामा अचानक बाढी आएको थियो । सो बाढीले मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने पुलको एक छेउ, विशेषतः पकरबासतर्फको भाग कटान गरेपछि पुलको संरचना कमजोर बनेको हो ।

पुलको एक हिस्सा भत्किएर सडक खोक्रो बनेपछि जोखिम मूल्याङ्कन गर्दै प्रशासनले दुईपाङ्ग्रे बाहेकका सबै प्रकारका सवारीसाधनका लागि पुल प्रयोग गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सुरक्षाका दृष्टिले यस्तो निर्णय गरिएको हो ।

पुल जोखिममा परेको जानकारी पाएलगत्तै प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा र जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरूको टोलीले स्थलगत अनुगमन गरेको थियो । निरीक्षणपछि सम्बन्धित निर्माण तथा मर्मत निकायलाई तत्काल उपाय अपनाउन निर्देशन दिइएको थियो ।

स्थानीयवासी केदारप्रसाद ढुंगेलका अनुसार खोलाको कटानले केही संरचना पनि बगाएको छ । खाँडादेवी–४ का वडाध्यक्ष कृष्ण पौडेलले खोलाको कटान सुरु हुँदा नै सम्बन्धित निकायलाई जानकारी गराए पनि समयमै पहल नहुँदा स्थिति नियन्त्रणबाहिर गएको बताए ।

रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल वैकल्पिक राजमार्गको रूपमा समेत प्रयोग हुँदै आएको छ। विशेषगरी खुर्कोटको पुल बगिएपछि दोलखा, ओखलढुंगा र रामेछापका धेरै सवारी यही बाटो हुँदै काठमाडौँ ओहोर–दोहोर गर्दै आएका थिए ।

हाल पनि १५ टनभन्दा बढी तौल बोकेका सवारीसाधन यही मार्ग प्रयोग गरिरहेका थिए । पुलमा क्षति आएपछि यातायात सम्पर्क पूर्ण रूपमा रोकिएको छ, जसले जिल्लाको पूर्वाधार र जनजीवनमा ठूलो असर पारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १८, आईतवार ०४:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP