मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गए संगीत र साहित्यका रसिक यात्रु : गणेश रसिकको ७८ वर्षको उमेरमा निधन

2K
SHARES
गए संगीत र साहित्यका रसिक यात्रु : गणेश रसिकको ७८ वर्षको उमेरमा निधन

काठमाडौं । नेपाली संगीत र साहित्यका बहुआयामिक सर्जक, वरिष्ठ संगीतकार तथा गायक गणेश रसिक अब यो दुनियाँमा रहेनन् । लामो समयदेखि क्यान्सरसँग जुझिरहेका रसिकको आइतबार बिहान काठमाडौंको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा ७८ वर्षको उमेरमा निधन भयो । उनका समकालीन संगीतकार बुलु मुकारुङले रसिकको निधनको जानकारी गराएका हुन् ।

पाँच वर्षदेखि क्यान्सरले गाँजिएका रसिक परिवारमा बुहारी र नातिनीका साथ बस्दै आएका थिए । छोरी बेलायतमा भएकाले अन्त्येष्टि छोरीको आगमनपछि मात्रै गरिने र हालसम्म शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो यात्रासम्म साथ नछोडेको पीडा

रसिकको जीवन एउटा सर्जकको मात्र होइन, एकपछि अर्को पारिवारिक वियोगको कथा पनि हो । उनका तीन भाइमध्ये एकको माओवादी द्वन्द्वमा निधन भयो, अर्का भाइ सडक दुर्घटनामा, र कान्छा भाइ पनि धेरै अघिनै बितिसकेका थिए । केही वर्षअघि छोरालाई गुमाएका रसिकले २०७७ सालमा कोभिडका कारण जीवनसंगिनी पनि गुमाए । व्यक्तिगत जीवनमा यति धेरै शोक हुँदाहुँदै पनि उनले कलासंगीत र साहित्यको यात्रा रोकेनन् ।

‘लेकाली’को लयमा बगेको संगीत यात्रा

गणेश रसिकले संगीतको सुर सुरु ‘लेकाली समूह’ स्थापना गरेर गरेका थिए, जुन नेपाली मौलिक गीतको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण संस्था बन्यो । उनका स्वर र संगीतमा अडिएका कैयौं जनप्रिय गीत आज पनि नेपाली समाजका स्मृति र भावना बनेर बाँचेका छन् । ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘रातो भाले क्वाँया क्वाँया’, ‘नखेल्नु जुवा र तास’, ‘धेरै सम्झे धेरै हुन्छ’ जस्ता गीतहरू आज पनि रेडियो, मञ्च र स्मृतिमा बजिरहेका छन् ।

साहित्यिक र सांस्कृतिक नेतृत्वको सशक्त उपस्थिति

गणेशकुमार राई – जसलाई हामी ‘गणेश रसिक’का रूपमा चिन्छौं – केवल संगीतमा होइन, साहित्यिक र सांस्कृतिक संस्थाहरूको नेतृत्वमा पनि अग्रस्थानमा रहे । रत्न रेकर्डिङ संस्थानदेखि साझा प्रकाशन, सांस्कृतिक संस्थान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसम्म उनले नेतृत्व गरेका संस्थानहरूमा उनले संस्थागत आधारमा सांस्कृतिक पुनर्निर्माणका प्रयासहरू गरेका थिए ।

उनका प्रकाशित कृतिहरू नेपाली साहित्यमा विविधता र आत्मीयता दुवै प्रस्तुत गर्छन् । ‘क्षितिजलाई छुन खोज्दा’ देखि ‘जब सिस्नुहरू टेक्दै हिँडे’ सम्मका कथा, संस्मरण, गीतसंग्रह र उपन्यासहरूले उनको बहुपाटे कलात्मक यात्राको साक्षी दिइरहेका छन् ।

सिर्जनाको संसारबाट अवकाश, स्मृतिमा अमरता

भोजपुर छिनामखु नौलेगाउँमा जन्मिएका रसिकले गाउँको हरियो डाँडाबाट सुर लिएका थिए, जुन सुरले सहरसम्मको यात्रा मात्र गरेन, देशभरका मनसम्म पुगी भावनाको तान छेड्यो । उनले जीवनभर सिर्जना र सेवा दुवैलाई आत्मिक समर्पण गरे । आज उनी छैनन्, तर उनका गीतहरू, शब्दहरू र उनी नेतृत्व गरेको संस्थागत पहिचानहरूमार्फत उनी अझै नेपाली सांस्कृतिक चेतनामा जिउँदै रहनेछन् ।

रसिकको अवसान नेपाली कलासंस्कृतिको एक युगको समापन हो। तर उनका सिर्जना भने समयका पानामा सदैव बाँच्छन्।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ १८, आईतवार १०:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP