मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वर्षाका कारण कांग्रेस महाधिवेशनका क्षेत्रीय अधिवेशन रोकिए

663
SHARES
वर्षाका कारण कांग्रेस महाधिवेशनका क्षेत्रीय अधिवेशन रोकिए

काठमाडौं । प्रतिकूल मौसमका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबारका लागि तय भएका प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रभावित भएका छन् । लगातारको वर्षापछि विभिन्न जिल्लामा निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।

१० असोजमा हुने भनिएका क्षेत्रीय अधिवेशनमध्ये ओखलढुंगा, भोजपुर, रामेछाप, काभ्रेपलाञ्चोक र कास्कीमा निर्धारित कार्यक्रम रोकिएको छ । वर्षाका कारण केही स्थानमा बाँकी रहेका पालिका अधिवेशनसमेत प्रभावित भएका छन् ।

ओखलढुंगामा शनिबार हुने तय भएका प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका सबै कार्यक्रम स्थगित गरिएको छ । नयाँ मिति तथा संशोधित निर्वाचन कार्यतालिकाबारे पछि निर्णय गरिने जनाइएको छ ।

भोजपुरमा भोजपुर नगरपालिका अधिवेशनसँगै प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । जिल्ला निर्वाचन अधिकृतले सूचना जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी दिएका छन् ।

रामेछापमा पनि निरन्तरको वर्षाका कारण शनिबारका लागि निर्धारित क्षेत्रीय अधिवेशन रोकिएको छ । त्यहाँ १२ असोज बिहान ७ बजेदेखि प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ ।

काभ्रेपलाञ्चोक–२ मा समेत मौसम प्रतिकूल भएपछि प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरिएको छ । अधिवेशनको नयाँ मितिबारे छुट्टै सूचना जारी गरिने बताइएको छ ।

कास्कीमा पनि केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार क्षेत्रीय अधिवेशन स्थगित गरिएको छ । जिल्ला निर्वाचन अधिकृतका अनुसार त्यहाँ १२ असोजदेखि प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सञ्चालन गरिनेछ ।

यसैबीच, कांग्रेस केन्द्रीय निर्वाचन समितिले शुक्रबार जिल्ला निर्वाचन अधिकृतहरूलाई सम्बन्धित क्षेत्रको मौसम अवस्था मूल्यांकन गरेर निर्वाचन कार्यक्रम अघि बढाउन निर्देशन दिएको थियो ।

समितिका अनुसार मौसम अनुकूल रहेका क्षेत्रमा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै अधिवेशन गर्नुपर्नेछ । प्रतिकूल मौसम भएका क्षेत्रमा भने १३ असोजभित्र अधिवेशन सम्पन्न हुने गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ९, शुक्रबार ०७:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP