मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुगौली सन्धिपछिकै राष्ट्रिय स्वाधीनताको संकटमा देश: प्रचण्ड

741
SHARES
सुगौली सन्धिपछिकै राष्ट्रिय स्वाधीनताको संकटमा देश: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल अहिले सुगौली सन्धिपछिकै सबैभन्दा गम्भीर राष्ट्रिय स्वाधीनताको संकटबाट गुज्रिरहेको बताएका छन् । उनले यस्तो अवस्थामा राष्ट्रिय हितको रक्षा र जनआकांक्षाको सम्बोधनका लागि कम्युनिस्ट शक्तिहरूबीच सहकार्य, एकता र पुनर्गठन अपरिहार्य रहेको धारणा राखे ।

आइतबार आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा तथा वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई पर्याप्त प्राथमिकता दिन नसक्नु वर्तमान संकटको प्रमुख कारण भएको स्वीकार गरे । उनले विगतका कमजोरीलाई लिएर एकअर्कामाथि आरोप लगाउनुको सट्टा सबै राजनीतिक शक्तिले सामूहिक आत्मसमीक्षा गर्नुपर्ने बताए ।

उनका अनुसार अहिलेको संकट केवल राजनीतिक सत्ता परिवर्तनको विषय नभई राष्ट्रको स्वाधीनता र जनताको भविष्यसँग जोडिएको प्रश्न हो । “देश साँच्चै असाधारण परिस्थितिमा छ । यस्तो संकटबाट बाहिर निस्कन कम्युनिस्ट आन्दोलनको साझा पहल र एकता नै मुख्य आधार बन्न सक्छ,” उनले भने ।

दाहालले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको सम्बन्ध कम्युनिस्ट आन्दोलनसँग “नङ र मासु” जस्तै रहेको उल्लेख गर्दै साझा राष्ट्रिय एजेन्डामा आधारित नयाँ सहकार्यको आवश्यकता औंल्याए । उनले विभिन्न वामपन्थी दलका प्रतिनिधिलाई विगतका अनुभवबाट शिक्षा लिएर नयाँ रणनीतिका साथ अघि बढ्न आग्रह गरे ।

दाहालले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्नुको प्रमुख कारण सत्ता केन्द्रित राजनीति भएको टिप्पणी गरे । सरकार बनाउने र गिराउने समीकरणमा मात्र अल्झिँदा आन्दोलनले आफ्नो वैचारिक तथा जनआधारित शक्ति गुमाएको उनको भनाइ थियो ।

उनले सहकार्यको उद्देश्य केवल सरकारमा सहभागी हुनु नभई उत्पीडित वर्ग, श्रमिक, समुदाय, जाति र क्षेत्रका अधिकारका लागि साझा संघर्ष निर्माण गर्नु हुनुपर्ने बताए । त्यस्तो आन्दोलनले मात्रै वास्तविक सामाजिक तथा राजनीतिक रूपान्तरण सम्भव हुने उनले दाबी गरे ।

माओवादी आन्दोलनका ऐतिहासिक बलिदान र नेकपा (एमाले) लगायत अन्य वामपन्थी शक्तिसँग भएका विगतका सहकार्य तथा एकताका अनुभवलाई स्मरण गर्दै दाहालले अब ती अनुभवबाट सकारात्मक शिक्षा लिएर विगतका कमजोरी नदोहोरिने गरी रणनीतिक एकताको बाटो रोज्नुपर्नेमा जोड दिए ।

सम्बोधनको अन्त्यमा उनले सबै वामपन्थी शक्तिलाई नयाँ सहकार्यको यात्रामा सहभागी हुँदै कम्युनिस्ट आन्दोलनलाई नयाँ गति दिन विशेष अपिल गरे ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ७, आईतवार १२:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP