मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तीन देश, तीन उद्घाटन समारोह: विश्वकप–२०२६ को भव्य सुरुआत आजदेखि

338
SHARES
तीन देश, तीन उद्घाटन समारोह: विश्वकप–२०२६ को भव्य सुरुआत आजदेखि

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता, फिफा वल्र्ड कप २०२६, आजदेखि सुरु हुँदैछ । नेपाली समयअनुसार बिहीबार मध्यराति १२ः४५ बजे पहिलो खेलसँगै विश्वकपको औपचारिक यात्रा प्रारम्भ हुनेछ ।

यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ । पहिलोपटक ४८ राष्ट्र सहभागी हुने प्रतियोगिता तीन आयोजक राष्ट्र— संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडामा फैलिएको छ । एक महिनाभन्दा बढी चल्ने प्रतियोगितामा १६ सहरमा १०४ खेल खेलाइनेछन् ।

विश्वकपको विशेष आकर्षण भनेको यसको उद्घाटन समारोह हो । अघिल्ला संस्करणहरूमा जस्तै एकै स्थानमा सीमित नरही यसपटक तीनै आयोजक देशले आफ्नै भूमिबाट विश्वकपको स्वागत गर्नेछन्। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा आयोजना हुने तीन छुट्टाछुट्टै समारोहले विश्व फुटबललाई एकताको साझा सन्देश दिने लक्ष्य राखेका छन् ।

प्रख्यात अन्तर्राष्ट्रिय क्रिएटिभ निर्देशक मार्को बालिचको नेतृत्वमा तयार पारिएका कार्यक्रमहरूले सांस्कृतिक विविधता र आधुनिक प्रस्तुतिको संयोजन देखाउनेछन् । आयोजक राष्ट्रहरूले आफ्ना मौलिक परम्परा, कला र पहिचानलाई विश्वसामु प्रदर्शन गर्ने तयारी गरेका छन् ।

मेक्सिकोबाट विश्वकपको औपचारिक शुभारम्भ
विश्वकपको पहिलो उद्घाटन समारोह मेक्सिको सिटीस्थित रंगशालामा हुनेछ । समारोहमा मेक्सिकन लोकसंस्कृति, आदिवासी कला, परम्परागत नृत्य र सांगीतिक प्रस्तुति समेटिनेछ । ‘पापेल पिकाडो’ कलालाई केन्द्रमा राखेर तयार पारिएको कार्यक्रम मेक्सिकोको सांस्कृतिक पहिचान झल्काउने माध्यम बन्ने अपेक्षा गरिएको छ ।

संगीतप्रेमीका लागि पनि समारोह विशेष रहनेछ । साकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता लगायतका चर्चित कलाकार सहभागी हुन सक्ने चर्चा छ ।

उद्घाटन समारोहपछि आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध खेल्दै प्रतियोगिताको पहिलो खेल खेल्नेछ ।

क्यानाडामा पहिलो घरेलु विश्वकपको उत्सव
जुन १२ मा टोरन्टोमा हुने दोस्रो समारोह क्यानाडाका लागि ऐतिहासिक हुनेछ । पुरुष राष्ट्रिय टोलीले पहिलोपटक आफ्नै भूमिमा विश्वकप खेल्न लागेको अवसरलाई विशेष उत्सवका रूपमा मनाइने तयारी गरिएको छ ।

‘फ्रम कोस्ट टु कोस्ट टु कोस्ट’ अवधारणामा आधारित कार्यक्रममा क्यानाडाको बहुसांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय एकतालाई संगीत तथा दृश्य प्रस्तुतिमार्फत उजागर गरिनेछ । अलानिस मेरिसेट, अलेसिया कारा, माइकल बुब्ले, जेसी रेयेज, नोरा फतेह, एलियाना सन्जोय, भेगेड्रिम र विलियम प्रिन्सलगायतका कलाकारको प्रस्तुति रहने अपेक्षा गरिएको छ ।

समारोहपछि क्यानाडाले बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ ।

लस एन्जलसमा प्रविधि र मनोरञ्जनको संगम
अमेरिकाको उद्घाटन समारोह भने जुन १२ मा लस एन्जलसमा हुनेछ । विश्व मनोरञ्जन उद्योगको केन्द्र मानिने सहरमा आयोजना हुने कार्यक्रममा अत्याधुनिक प्रविधि, डिजिटल दृश्य प्रभाव र अन्तर्राष्ट्रिय संगीतको संयोजन देखाइनेछ ।

केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टाइलाजस्ता जस्ता विश्वप्रसिद्ध कलाकारले प्रस्तुति दिन सक्ने बताइएको छ ।

समारोह सम्पन्न भएपछि अमेरिकाले पाराग्वेविरुद्ध खेल्दै घरेलु मैदानमा विश्वकप अभियान सुरु गर्नेछ ।

विश्वभरका करोडौँ समर्थकको ध्यान तानेको विश्वकप–२०२६ केवल फुटबल प्रतियोगिता मात्र नभई संस्कृति, संगीत र विश्व एकताको उत्सवका रूपमा पनि प्रस्तुत हुने अपेक्षा गरिएको छ । तीन देशमा फैलिएको उद्घाटन समारोहले विश्वकप इतिहासमा नयाँ अध्याय थप्ने विश्वास आयोजकहरूको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २८, बिहीबार ०९:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP