मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

377
SHARES
निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं । सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गतेको उक्त निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गर्दै ऐतिहासिक फैसला सुनाएको हो ।

फैसला सुनाउने क्रममा न्यायाधीश सुवेदीले निर्णयको पूर्णपाठ तयार भइसकेको जानकारी दिँदै दुई दिनभित्र सार्वजनिक गरिने बताइन् । एक साताअघि अन्तिम बहस सम्पन्न भएपछि मंगलबार सर्वोच्चले अन्तिम फैसला सुनाएको हो ।

सरकारको निर्णयविरुद्ध नेपाल मिडिया सोसाइटीका तर्फबाट अख्तियारप्राप्त अधिवक्ता अनन्तराज लुइँटेलले दायर गरेको रिटमा अदालतले निजी सञ्चारमाध्यमको पक्षमा फैसला गरेको हो । निर्णयपछि प्रतिक्रिया दिँदै लुइँटेलले अदालतको आदेशले सञ्चार क्षेत्रमाथि भएको विभेद अन्त्य भएको र संविधानसम्मत अभ्यासलाई पुनः स्थापित गरेको बताए । उनले भविष्यमा सरकारले यस्ता असंवैधानिक निर्णय गर्नुअघि गम्भीर रूपमा सोच्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे ।

रिटमाथिको सुनुवाइका क्रममा असार २२ र २३ गते दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । नेपाल मिडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्तासहित विभिन्न कानुन व्यवसायीले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु अभिव्यक्ति स्वतन्त्रता र समान व्यवहारको संवैधानिक सिद्धान्तविपरीत भएको जिकिर गरेका थिए । उनीहरूले विज्ञापन ऐन तथा नियमावलीले समानुपातिक रूपमा विज्ञापन वितरणको व्यवस्था गरेको, सरकारले कुनै सञ्चारमाध्यमलाई प्राथमिकता दिएर अन्यलाई बहिष्कार गर्न नमिल्ने तथा विज्ञापन बोर्ड र प्रदेश तथा स्थानीय तहको अधिकारमा हस्तक्षेप गर्न नहुने तर्क प्रस्तुत गरेका थिए ।

यता सरकारका तर्फबाट महान्यायाधिवक्ता नारायणदत्त कंडेल र नायब महान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले सरकारी विज्ञापनमा हुने अनियमितता र खर्चको चुहावट रोक्ने उद्देश्यले यस्तो निर्णय गरिएको दाबी गरेका थिए । साथै, निजी सञ्चारमाध्यमलाई समेट्ने नयाँ नीतिगत व्यवस्था ल्याउने तयारी भइरहेको पनि सरकारको तर्क थियो ।

उल्लेखनीय छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते सचिवस्तरीय निर्णय गर्दै संघ, प्रदेश, स्थानीय तह तथा सार्वजनिक कोषबाट सञ्चालित निकायहरूले आफ्ना सूचना र विज्ञापन गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन लगायत सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने परिपत्र जारी गरेको थियो । उक्त निर्णयविरुद्ध चैत २४ गते नेपाल मिडिया सोसाइटीका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ३०, मंगलवार ११:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP