मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्व एन्फा अध्यक्ष पक्राउ, आर्थिक अनियमितताको आरोपमा अनुसन्धान

1K
SHARES
पूर्व एन्फा अध्यक्ष पक्राउ, आर्थिक अनियमितताको आरोपमा अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार साँझ उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

सिआइबीका अनुसार शेर्पामाथि हात्तीगौँडामा सञ्चालित टुङ्गराम इन्टरनेशनल एकेडेमीसँग सम्बन्धित करिब ८ करोड ७८ लाख ३० हजार रुपैयाँ बराबरको रकम हिनामिना गरेको आरोप लागेको छ । सोही आरोपका आधारमा आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विद्यालयको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा उनले आफ्नो पदको दुरुपयोग गर्दै विभिन्न प्रक्रियामार्फत व्यक्तिगत लाभ लिएको र संस्थालाई आर्थिक नोक्सानी पुर्‍याएको आशंका गरिएको छ ।

यस्तै, भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा विद्यालयको हितविपरीत आफ्नो स्वामित्वसँग सम्बन्धित कम्पनीमा बिक्री गरिएको आरोप पनि अनुसन्धानको विषय बनेको छ । उक्त कारोबार डर, त्रास तथा अनुचित प्रभाव प्रयोग गरी गरिएको हुन सक्ने प्रहरीको दाबी छ ।

सिआइबीले घटनासम्बन्धी थप प्रमाण संकलन र अनुसन्धान जारी रहेको जनाएको छ । अदालतबाट आवश्यक म्याद थप गरी शेर्पामाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १३, शनिबार ०१:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP